बुटवल,२८ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक वसन्त पराजुलीले प्रहरी समक्ष आत्मसमर्पन गरेका छन् ।

बचतकर्ताहरुको करोडौं रकम अपचलनको घटना सार्वजनिकपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा (क्षेत्री) सँगै सम्पर्कविहीन भएका व्यवस्थापक वसन्त पराजुलीले शुक्रवार दिउँसो प्रहरी समक्ष आत्मसमर्पन गरेका हुन् ।

सहकारीका पदाधिकारी तथा ब्यवस्थापक सम्पर्कबिहीन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ ।

करिव दुई हजार २ सय सदस्य रहेको सहकारीमा प्रमुख सञ्चालक समितिका अध्यक्ष र सचिव भागेपछि आक्रोशित बचतकर्ताले बिहीबार साँझदेखि राति १ बजेसम्म अध्यक्ष र सचिवको घर घेरेर बचतकर्ताको रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

बचतकर्ताहरूले अध्यक्ष र सचिवको घर घेरेर बचतकर्ताको रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेपछि शुक्रवार दिउँसो प्रहरीको सुरक्षा घेरामा सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा अडिट गर्ने कार्य भइरहेका बेला व्यवस्थापक पराजुलीले सहकारीकै केही व्यक्तिहरुको साथमा आएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।

वडा प्रहरी कार्यालय रामनगर बुटवलको प्रहरी टोलीसमक्ष आत्मसमर्पण गरेका व्यवस्थापक पराजुलीले अडिटरसामु सहकारीको डे वानदेखि नै हिसाब हेर्नुपर्ने बताएको स्रोतले जानकारी दिएको छ । शुक्रवार (हिजो) नै इलाका प्रहरी कार्यालय बुटवलकाे हिरासतमा रहेका पराजुलीलाई आईतबार (भोली) सरकारी वकिलको कार्यालयमा बयान गराएर अदालत पेश गरिने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

व्यवस्थापक पराजुलीले तीन जना शेयर सदस्यको नाममा देखाइएको किर्ते ऋण र आफुसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण गरी नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ अपचलन गरेको २०८२ साल जेठ ५ गते कबुलियतनामा गरिएको एउटा तमसुक फेला परेको बताइएको छ ।