बुटवल,२८ असार
बुटवलमा प्रधान कार्यालय रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेटको १० औं बार्षिक साधारण सभा बिवादमा परेको छ ।
संस्थाको ब्यवस्थापन पक्षले अर्को एक लघुबित्त बित्तीय संस्थासँग मर्जर गर्ने एजेण्डा पारित गराउने मनसायले संस्थाका सबै सेयर सदस्यहरुलाई समेत खबर नगरी गुपचुप रुपमा साधारण सभा गर्न लागेको भन्दै संस्थाको आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र सेयर सदस्यहरुलले बिरोध गरेका हुन् ।
बुटवलको एक होटलको पाँचौ तलामा सिमित सेयर सदस्यहरुको मात्रै उपस्थितिमा साधारण सभा भैरहदा तल गेटमा संस्थाको आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन कालो ब्यानरसहित धर्ना दिईरहेका थिए ।
संस्थाका केही सञ्चालक समिति सदस्य,प्रमुख कार्यकारी अधिकृत एवं ब्यवस्थापन तहका केही उच्च पदस्थ कर्मचारीहरुको ब्यक्तिगत स्वार्थ,लाभ तथा पहुँच बिस्तार एवं संस्थाको दोहन गर्ने मनसायले अति न्युन तथ्या्कीय बिबरण रहेको बित्तीय संस्थासँग मर्जर सम्बन्धि निर्णय गराउनकै लागि साधारण सभा गर्न लागेकोले आफुहरु बिरोधमा उत्रिनुपरेको संस्थाको आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र लुइटेलले जानकारी दिए ।
ग्रामिण विकास लघुबित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड बीचको प्रस्तावित मर्जर प्रकृया रोक्न माग गर्दै कर्मचारी संगठनको तर्फबाट यही असार १३ गते ज्ञापन पत्र बुझाए पनि त्यसप्रति सुनुवाई नगरी केही सिमित सञ्चालक समिति सदस्य,प्रमुख कार्यकारी अधिकृत एवं केही उच्च पदस्थ कर्मचारीको स्वार्थ पुर्तीका लागि साधारण सभा गर्न लागेकोले त्यसको बिरोधमा धर्ना दिइएको अध्यक्ष लुइटेलले बताए ।
जुन संस्थासँग मर्जर गर्न लागिएको छ त्यसले संस्था र सेयरधनी सदस्यहरुको लगानीमाथि खेलवाड हुने र संस्थामा कार्यरत सयौं कर्मचारीको भबिस्य,सेवा,सुबिधा,उपदान लगायत बहुआयामिक बिषयहरुमा असर पर्न गई समग्र कर्मचारीको मनोवल घटाउने, असन्तोष बढाउने र संस्थाकै अस्थित्वमा समेत खतरा उत्पन्न हुने भएकोले आफुहरु बिरोधमा उत्रिनु परेको कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पंगेनीको भनाई छ ।
साधारण सभा सम्बन्धि औपचारिक जानकारी नपाएका तर थाहा पाएर त्यहाँ पुगेका सेयरधनी सदस्यहरु र पत्रकारलाई समेत प्रवेश नदिई सिमित ब्यक्तिको उपस्थितिमा प्रहरीको घेरा भित्र साधारण सभा गरिनुले पनि संस्थाको गतिबिधि संकास्पद रहेको भान हुन्छ ।
संस्थाका अध्यक्ष भरतराज कोइरालाले मर्जरका लागि अन्य प्रकृया पुरा भइसकेकोले मर्जरमा जानुको विकल्प नभएको प्रतिक्रिया दिए ।
प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिब एउटै ब्यक्ति रहेको सो संस्थाको कम्पनी सचिब समेत रहेका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको कम्पनी सचिबका लागि आवस्यक योग्यता नपुग्ने कर्मचारीहरुको दाबी छ ।
संस्थाको आधिकारीक ट्रेड युनियनको बिरोधका बाबजुद सबै सेयरधनी सदस्यहरुलाई खबर नगरी साधारण सभा हुन लागेको थाहा पाएर त्यहाँ पुगेका सेयरधनी सदस्यहरु र पत्रकारहरुलाई समेत प्रहरीले प्रवेश गर्न दिएको थिएन ।
एक सय ५० कित्ता सेयर हुने ब्यक्ति संस्थाको अध्यक्ष हुने तर एक हजार कित्ता र सो भन्दा बढी सेयर रहेका सेयरधनी सदस्यलाई थाहानै नदिई गरिने साधारण सभाको नियत गलत भएको सेयरधनीहरुको भनाई छ ।






