काठमाडौ,२७ असार ।
पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
ज्ञानेन्द्र शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराज धिराज’ भनि सम्बोधन गर्ने गरेको र संविधानले नचिनेको संवाद सचिवालय भनि सम्बोधन गरिएको विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिएको एसपी बोहराले बताए ।
यस्तै सोही लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि सोधपुछ गर्ने प्रहरीले जनाएको छ ।
गत वैशाख १३ गते पनि पाठकले जारी गरेको समवेदना सन्देशमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश भनि उल्लेख थियो ।
यस विषयमा नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद्मै आपत्ति जनाएका थिए । कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव पाठकलाई कारबाही गर्न सांसद गैरेले माग गरेका थिए ।






