काठमाडौं,२६ असार ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलबाट बाहिरिने यात्रुलाई खादा माला लगायत सजावटी वस्तु प्रयोग नगर्न आग्रह गरेको छ । अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि नेपालबाट प्रस्थानगर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई सो आग्रह गरेको हो ।
अध्यागमन कार्यालयले दुई बुँदे निर्देशन जारी गर्दै अध्यागमन क्षेत्र एक संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि वा पहिरन वा पहिचान वा खास संकेत खुल्ने आभूषण वा सोहीसँग जोडिएका सामाग्री खादा, माला, चस्मा, फरक किसिमको टोपी निषेध गरेको जनाएको हो ।
निर्देशनमा भनिएको छ-” खादा, माला वा सोही प्रकृतिका वस्तुहरू अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला, वा यस्तै अन्य सजावटी वस्तुहरूको प्रयोग नगर्नुहोला । यी वस्तुहरूले प्रयोग मार्फत अध्यागमन प्रशासनको कार्यमा हुन सक्ने सम्भावित जोखिम एवं अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले यस्तो वस्तुहरूको प्रयोग निषेध गरिएको छ ।”
खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरूः कुनै विशेष समूह, संगठन, वा ट्राभल एजेन्सी -म्यान पावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज, वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन । यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको जनाइएको छ ।
यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गर्न समेत साे कार्यालयले आग्रह गरेको छ । ‘नियमको उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुन सक्ने व्यहोरा समेत जानकारी गराइन्छ–जारी विज्ञप्तिमा भनिएको छ ।






