पाल्पा,२६ असार ।
डिभिजन वन कार्यालय पाल्पाले साउन १ गतेदेखि चुनढुंगा उत्खनन र ओसार पसार कार्य रोक्न निर्देशन दिएको छ ।
चुनढुंगा खानीबाट वर्षात्को समयमा उत्खनन तथा ओसार पसार गर्दा मुख्य तथा सहायक सडकसमेतका पूर्वाधारमा पुर्याउने क्षति, सडक दुर्घटनाबाट निम्त्याउन सक्ने समस्यालाई मध्यनजर गरी उत्खनन र ओसार पसारमा रोक लगाउने निर्णय गरेको डिभिजन बन कार्यालय पाल्पाले जनाएको छ ।
खानी उद्योगहरुले खानी विभागबाट स्वीकृत भएको माइनिङ स्किम र वन तथा भू–संरक्षण विभागसँग गरेको सम्झौता समेतको आधारमा निश्चित अवधि खानी उत्खनन तथा ढुवानी रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ ।
वन नियमावली, २०७९ को परिच्छेद १५ नियम ११८ को ४ बमोजिम बसेको जिल्ला वन सुरक्षा समितिको बैठकले उत्खनन र ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो ।
हाल मनसुनको प्रकोप (वर्षातमा बाढी पहिरो) का कारण सिमेन्ट उद्योगका लागि कच्चा पदार्थको रुपमा प्रयोग हुने चुनढुंगा उत्खनन क्षेत्रमा हेभी इक्वेपमेन्ट आवत जावत गर्दा सडक बिग्रने डिभिजन वन कार्यालयले जनाएको छ ।
खानी सञ्चालन भएका सबै स्थानीय तहमासमेत निर्देशन पठाइसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्ला वन सुरक्षा समितिको बैठकले साउन १ गतेदेखि चुनढुंगा उत्खनन र ओसारपसार पूर्ण रुपमा बन्द गर्ने निर्णय अनुसार निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा सूचना पठाइएको जनाइएको छ ।
चुनढुंगा खानी उत्खनन गर्ने उद्योग संचालकले वार्षिक २७० देखि ३०० दिनसम्म उत्खनन तथा ओसारपसारको अनुमति पाउने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
१० टन क्षमताकाे राजमार्गमा टिप्परहरूले निर्वाध रूपमा २५ टन निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । बर्षा सुरु भएपछि कतिपय चुनढुंगा खानी बन्द भए पनि केही खानी उद्योग अझै सञ्चालनमा छन् ।
सर्वोत्तम सिमेन्ट र सिजी सिमेन्ट साथै कञ्चन कोइरिजले अटेरी गर्दै खानी उत्खनन तथा ओसार पसार गर्दै आएका छन् ।
पाल्पा जिल्लामा तिनाउमा डोलोमाइड, अल्फा सिमेन्टस् प्रालि, सिद्धार्थ मिनिरल्स प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि, कन्चन क्वेरिज प्रालि, सत्यवती चुनढुंगा उत्खनन् प्रालि, माथागढीमा पाल्पा सिमेन्ट प्रालि, विएस सिमेन्ट, तिनाउकै अल्फा सिमेन्ट प्रालि र निस्दीको होङ्सी सिमेन्ट प्रालि, रैनादेवी छहरामा सर्वोत्तम सिमेन्ट प्रालि र सोमादी तथा शिद्देश्वरमा सिजी सिमेन्ट्सले चुनढुंगा उत्खनन्का साथै ओसार पसार गर्दै आएका छन् ।






