काठमाडौं,२५ असार ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित शिवराज नगरपालिका–१ बनकसबासा बस्ने २२ वर्षीय सुमन चुदारा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै बाँकेको खजुरा गाउँपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुर्जन बर्मालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेकै खजुरा नगरपालिका–४ एफ गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका–१५ बस्ने २१ वर्षीय नागेन्द्र क्षेत्रीलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी रूकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँ डेरा गरी बस्ने सोही नगरपालिका–१० चुना बस्ने १९ वर्षीय देबराज बोहरालाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २२ ट्याब्लेट सहित मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–४ मुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका–१ बस्ने ३४ वर्षीय अरूण बादीलाई पनि मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय ललित जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरको हो ।
उता चितवन, राप्ती नगरपालिका–१० स्वामीटारबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित मकवानपुर राक्सिराङ्ग गाउँपालिका–६ बस्ने २१ वर्षीय बादल प्रजालाई मंगलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले किरनटारबाट भण्डारातर्फ आउँदै गरेको ना.५८ प ४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मुनाल चोकस्थित एयर क्याफे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका–६ बस्ने २० वर्षीया रोसिता गिरी, सोही नगरपालिका–९ बस्ने २० वर्षीया रस्मिता राई, ईटहरी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय समित राई र सोही उपमहानगरपालिका–५ बस्ने २० वर्षीय प्रसाङ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ करिब १ ग्राम ६ मिलिग्राम सहित २ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पुष्पा थापा र ३० वर्षीय बुद्दराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापाको भद्रपुर नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५ ग्राम ८० मिलिग्राम सहित २ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका–५ बस्ने ५५ वर्षीय नशरुदिन मिँया र भारत बिहार किशनगञ्ज घर भएका ३५ वर्षीय मनिसुर आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएक प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
घटनाकाे बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



