काठमाडौँ,२५ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिनकाे माग राखेर दुवै दलले संसद बैठक बहिस्कार गर्दै आएका छन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न समय दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकाले यसअघि जस्तै आजको पनि बैठक पनि बहिस्कार गर्ने जानकारी गराइन् ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाकी सांसद अनिषा नेपालीलाई बोल्ने समय दिए । उनले पनि सँधैजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले आजको बैठक बहिस्कार गर्ने बताइन् ।

दुवै दलका सांसदहरूले संसद बहिष्कारबारे सदनलाई जानकारी गराएपछि दुवै दलका सांसद बैठक कक्षबाट बाहिरिएका थिए ।