बुटवल,२४ असार ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा नजिकै गुडिरहेको माेटरसाईकलमाथी ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारी रहेका छन् ।
प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरिक्षक रुम केसीका अनुसार तिनाउ गाउँपालिका वडा नं.३ हेडबक्स नजिकै सडक माथीबाट पहिरो खस्दा उक्त दुर्घटना भएको हो ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेकाे लु ५१ प ६६३३ नं. को मोटरसाईकलमाथी ढुंगे पहिरो खस्दा पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलको पछाडी सवार जनककी श्रीमती २९ वर्षीय कल्पना चापागाई घाईते भएकी छन् । प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर झरेको पहिरोमा परेका मोटरसाईकल चालक जनकलाई सडकदेखि ३५ मिटर तल भिरबाट प्रहरीले उद्धार गरेको थियो ।
घटना घटेको १५/२० मिनेट भित्रै पहिरोले पुरिएको अवस्थाबाट उद्धार गरिएका जनकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते कल्पनाको बुटवलमा उपचार भईरहेको प्रहरी नायब निरिक्षक केसीले जानकारी दिए । पहिरोका कारण केहि समय सडक अवरुद्ध भए पनि अहिले पहिरो हटाएर आवागमन सूचारु गरिएको प्रहरीले जनाएको छ ।






