५५ जनाको उद्धार
काठमाडौँ,२४ असार ।
भोटेकोशी नदीमा आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार अपराहन्न ३ बजेसम्म बाढीमा परेका ७ जनाको शव फेला परेको छ । भोटेकोशीमा अचानक आएको बाढीमा १८ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा ३ प्रहरी, ९ सर्वसाधारण र ६ चिनियाँ नागरिक रहेका छन् ।

बाढीले नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाएकाे छ भने चीनसँगको सम्पर्क पुर्णरुपमा बिच्छेद भएको प्रहरीले जनाएको छ । त्यसैगरी बाढीले कम्तिमा ७-८ वटा इभी गाडी बगाएको छ भने इभी चार्जिङ स्टेशनमा क्षति पुगेको छ । बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुर्याएको छ ।

गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्डस्थित धुन्चेदेखि टिमुरेसम्मको सडक बाढीका कारण चर्किई अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।