बुटवल,२३ असार ।
सेवाग्राहीसँग घुस लिएको आराेपमा रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जर्नादन यादव र सिद्धार्थनगर नगरपालिका–९ स्थित श्रीगणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सूचना अधिकारी गीता आचार्यका अनुसार वडाअध्यक्ष यादवले विभिन्न योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिसका लागि सेवाग्राहीसँग घूस मागेकाे भन्ने सुचनाकाे आधारमा त्यहाँ पुगेको अख्तियारकाे टोलीले उनिहरूलाई नियन्त्रणमा लिएको हो ।
भैरहवा स्थित श्रीगणेश ट्रेडिङका सञ्चालक पाण्डेयले सोमबार दिउँसो वडाअध्यक्ष यादवका नाममा तीन लाख रुपैयाँ घूस रकम लिइसकेको अवस्थामा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वडाअध्यक्ष यादवसहित दुई जनालाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
वडा अध्यक्ष यादव र सञ्चालक पाण्डेयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।






