काठमाडौँ,२३ असार ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टा सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, साना–ठूला नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र वरपरको निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी गर्न महाशाखाले सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहँदा बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ । त्यस्तै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि देखिएको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको महाशाखाको भनाइ छ ।








