काठमाडौँ,२२ असार ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा अहिले अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली छ । सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदली छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातकाे पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टासम्म सम्भावित वर्षाका कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना पनि बढेको महाशाखाले चेतावनी दिएको छ । ठूला र साना नदी–नालाहरूमा पानीको सतह उच्च हुन सक्ने, जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।