बुटवल,२१ असार ।
नवलपारासी पश्चिमकाे पाल्हीनन्दनमा बसले माेटरसाइकललाई ठक्कर दिदा दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी पश्चिमकाे रामग्राम नगरपालिका– १५, डिगौल निवासी १८ बर्षीय राहुल राजभर र प्रतापपुर गाउँपालिका– ४, पाँचपेडा बस्ने २१ बर्षीय भोला राजभर रहेका छन् ।

शनिबार दिउँसो जिल्लाको महेशपुर–भुजहवा भित्री सडक खण्डमा पर्ने पाल्हीनन्दन गाउँपालिका– १, झरही खोला स्थित मोडमा ओभरटेक गर्ने क्रममा लु २ ख ६५४ नम्बरको बसले लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी,प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषित गरेकाे प्रहरी नायब उपरीक्षक पन्तले बताए ।

बस चालक रामग्राम नगरपालिका ४ ईम्लीटोल बस्ने बर्ष ३१ सदाम अलि अन्सारीलाई नियन्त्तणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।