काठमाडौ,२१ असार ।
आज पनि देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू-भागमा र अन्य प्रदेशका एक–दुई उच्च हिमाली स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि देखिएको महाशाखाको प्रक्षेपण छ ।
महाशाखाले आगामी २४ घण्टा वर्षाका कारण बाढी, पहिरो, भू–क्षय र गेग्रान बहावको जोखिम रहेको उल्लेख गरेको छ । शहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना देखिएकाले ठूला–साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा समेत असर पुग्न सक्ने औंल्याएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह पनि महाशाखाले अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेकाले देशका अधिकांश भागमा मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।








