बुटवल,२१ असार ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूबीच छलफल भएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोली र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पदाधिकारी तथा सदस्यहरूबीच शुक्रबार छलफल भएको हो ।
दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको संघले जनाएको छ ।
त्यस क्रममा व्यवसायीका समस्या उठान गर्दै समाधानका लागि सामुहिक प्रयासमा जोड दिईएको बताइएको छ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले बुटवलको औद्योगिक तथा व्यवसायिक विकासमा बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहेको बताए । बुटवल उद्योग वाणिज्य संघले अघि सारेको अवधारणा अनुसार मोतिपुर औद्योगिक क्षेत्र अगाडि बढेको जानकारी गराउँदै उनलेे मोतिपुर औद्योगिक क्षेत्र निर्माण पश्चात यस क्षेत्रको औद्योगिक विकास र उद्यमशिलता विकासले तिब्र गति लिने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा नवलपरासी उद्योग वाणिज्य संघले बुटवलका उद्योगी व्यवसायीलाई परासीमा गएर उद्योग व्यवसायमा लगानी गर्न निम्ता दिएको थियो । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बुटवल तथा आसपासका लगानीकर्ता उद्योगी व्यवसायीलाई परासीमा गएर उद्योग व्यवसाय गर्न आग्रह गरे ।
उद्योगमा लगानी गर्न आउने लगानीकर्तालाई नवलपरासी उद्योग वाणिज्य संघले स्वागत सहित सहजिकरण गर्ने प्रतिवद्धता समेत उनलेे गरे । नेपालकै मध्येभागमा रहेको परासीमा बुटवलमा भन्दा तुलनात्मक रुपमा धेरै सस्तोमा जग्गा प्राप्त हुने र रामग्राम सहित अन्य पर्यटकीय गन्तव्य पनि भएकाले पर्यटन उद्योगको समेत सम्भावना रहेको भन्दै उनलेे लगानीका लागि निम्तो दिए ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले औद्योगिक विकासमा भईरहेको अवरोध चिर्नेगरी व्यवसायिक संस्थाहरुले काम गर्नुपर्ने बताउँदै त्यसका लागि सबै संघ एकतावद्ध हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा व्यवसायीका समस्याहरुको बारेमा छलफल भएको थियो । सिमा क्षेत्रका उद्योगी व्यवसायीका प्रमुख समस्या खुला सिमा भएको औंल्याउँदै खुला सिमा व्यवस्थापनमा जोड दिईएको बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
साे अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार काकी र नवलपरासी उद्योग वाणिज्य संघका कार्यकारी सचिव रामशंकर कुर्मीले संघको स्थापना र त्यसयता संघबाट भएगरेका काम, विधानमा भएका व्यवस्था, संघमा सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संघका पदाधिकारीहरु वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल सहित कार्यसमिति सदस्यहरु र नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु सहभागि रहेको संघले जनाएको छ ।






