काठमाडौँ,१९ असार ।
आज दिउँसो देशभरको मौसमी प्रणाली अझै सक्रिय रहने जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाको प्रक्षेपण छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको पनि सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको औंल्याएको छ । विशेषगरी शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना उच्च छ । ठूला तथा साना नदी, खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनार क्षेत्रका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सर्वसाधारणसँगै सबै सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन अनुरोध गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र सोही कारण देशका अधिकांश भागमा मौसम प्रभावित बनेको महाशाखाको भनाइ छ ।