नवलपरासी,१८ असार ।
पूर्बी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माणाधीन पुलकाे काम सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएसँगै बिहीवारदेखि नयाँ पुलबाट सवारी आवागमन सुचारू गर्ने तयारी छ ।

नयाँ पुल निर्माण भई कालोपत्रे गर्ने कार्य समेत सम्पन्न भएको र बिहीवार बिहान ११ बजेदेखि पुल सञ्चालनमा ल्याउने तयारी भएको बुटवल-नारायणगढ सडक आयोजनाले जनाएको हो ।

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो ।

देशकै लाइफलाइन सडकको रूपमा रहेको पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक खण्डमा पर्ने उक्त पुल क्षतिग्रस्त भएको लामो समयसम्म पुननिर्माण नहुँदा सर्वसाधारणले सास्ती भाेग्नु परेको थियो भने सरकारको पनि आलोचना भइरहेको थियो ।