प्रकाश खनाल
बुटवल,१७ असार ।
बुटवललाई महानगरपालिका घाेषणा गराउन बुटवल उपमहानगरपालिकाले अग्रसरता लिने भएको छ ।

बसाइँसराइकाे चाप र बढ्दो शहरीकरणसँगै बुटवल उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बुटवलले संस्थागत रूपमै छलफलकाे सुरुवात गर्ने तयारी गरेको हाे ।

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक बर्षकाे लागि प्रस्तुत गरेको बजेटमा बुटवललाई महानगरपालिका घाेषणा गर्ने बिषयमा छिमेकी पालिकाहरूसँग छलफलका लागि बजेट छुट्याएपछि साे बिषय औपचारिक रूपमै अगाडि बढ्ने भएको छ ।

बढ्दाे शहरीकरण,जनसंख्या र पुर्वधार विकास एवं सेवा सुविधाको उपलब्धताकाे हिसाबले बुटवललाई महानगर घाेषणा गर्नुपर्ने आवाज उठिरहेका बेला बुटवल उपमहानगरपालिकाले त्यसको छलफलका लागि बजेट ब्यवस्थापन गरेपछि साे बिषयले संस्थागत रूप ग्रहण गर्ने भएको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई महानगरपालिका घाेषणा गर्न सकिने थुप्रै आधार रहेको भन्दै त्यस बिषयमा अब औपचारिक रूपमै छलफलकाे सुरुवात गर्ने समय आएको बताए ।

भाैतिक पुर्वाधारलगायतका धेरै मापदण्ड पुरा गरेकोले बुटवललाई महानगरपालिका घाेषणा गराउन अब ढिलाइ गर्न नहुने भन्दै नगर प्रमुख पाण्डेयले त्यसको औपचारिक रूपमै बहसकाे थालनी गर्ने उदेश्यले महानगरीय अवधारणा अगाडि सारिएको उल्लेख गरे ।

छिमेकी पालिकाहरूलाई गाभेर बुटवललाई महानगरपालिका घाेषणा गराउन सम्बन्धित पालिका, बिषय बिज्ञ तथा सराेकारवालाहरूसँग छलफलका लागि बजेट प्रस्ताव गरिएको उनलेे बताए ।

बुटवलको मुहार बदल्ने योजनाहरूबारे लुम्बिनीपाटी अनलाइनसँग कुरा गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई महानगरपालिकाकाे रूपमा हेर्ने आफ्नो सपना भएको प्रतिक्रिया दिए ।

त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले पनि सबै किसिमले बुटवल महानगरपालिका घाेषणायाेग्य भएको भन्दै त्यसको औपचारिक छलफलका लागि बजेट छुट्टयाइएको बताईन् ।

बुटवललाई महानगरपालिका घाेषणा गराउने बिषयमा
छिमेकी पालिका,विज्ञ तथा सराेकारवालाहरूसँग छलफलका लागि आगामी आर्थिक बर्षकाे बजेटमा २५ लाख बजेट प्रस्ताव गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए ।

साझा मुद्दामा छिमेकी पालिकाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने नीति अवलम्बन गरेको बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकासँगकाे संयुक्त लगानीमा कम्तीमा एक योजना अगाडि बढाउने योजना समेत अगाडि बढाएको छ ।

ल्हासाकाे नुन,सुन,पहाडको जडिबुटी,घिउ,तेल खरिदबिक्री गर्ने ब्यापारिक थलाेका रूपमा विकास भएको बुटवल २०१६ सालमा बुटवल खस्याैली नरपालिका हुँदै २०७१ सालमा उपमहानगरपालिकामा स्तराेन्नती भएको हो ।

पूर्वमा देवदह नगरपालिका,पश्चिममा सैनामैना नगरपालिका,उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका र दक्षिणमा तिलाेत्तमा नगरपालिका र शुद्वाेधन गाउँपालिकासँग सीमा जाेडिएकाे बुटवल उपमहानगरपालिका १०३.९८ बर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

९९ हजार चार सय ८६ महिला र ९४ हजार आठ सय ४९ पुरूष गरि कूल एक लाख ९४ हजार तीन सय ३५ जनसंख्या रहेको बुटवलमा ३४ हजार ९७ घरधुरी कानुनी रूपमा सुचिकृत भएका छन् ।

पछिल्लो समय शैक्षिक र स्वास्थ्य क्षेत्रकाे हवकाे रूपमा विकास हुदै गएको बुटवल उपमहानगरपालिका देशकै महत्त्वपूर्ण पर्यटकीय तथा आर्थिक केन्द्रकाे रूपमा पनि विकास हुँदै गएको छ ।