हेटौंडा,१७ असार ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिएर आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी ट्रक आज बिहान दुर्घटना हुदाँ ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा तत्कालै चिकित्सकले मृत घोषणाा गरेको प्रवक्ता अर्यालले बताए ।
घाइते सहचालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




