बुटवल,१४ असार ।
लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागका केही ठाउँमा धेरै भारी वर्षाकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जानकारी गराएको हो ।

महाशाखाका अनुसार आज साँझदेखि सोमबारसम्मे ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ । भारी वर्षा भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हुने भने धेरै भारी भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो ।

ठूलो पानी पर्ने भएकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुँदा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ ।

ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।