काठमाडौँ,१३ असार ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदलीसहित मौसम मुख्यतः सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । पहाडी भूभागका केही र अन्य भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेको समेत जनाइएको छ ।
उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । तीमध्ये कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने अनुमान छ ।
भारी वर्षाका कारण नदीहरूमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता प्रकोप निम्त्याउनुका साथै कृषि, सडक तथा हवाई यातायात, जनस्वास्थ्य र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।








