काठमाडौ,१२ असार ।
दृष्टि साप्ताहिक पत्रिका एवं अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई विशेष अदालतले २५/२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले दुवैजनालाई २५ /२५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
विचाराधीन मुद्दाबारे निरन्तर समाचार लेखेर अदालतको अवहेलना गरेको भनी कर्मचारीहरूले तयार पारेको प्रतिवेदनका आधारमा विशेष अदालतले अवहेलनाको कारबाही अघि बढाएको थियो ।
विशेष अदालतका सबै न्यायाधीश सम्मिलित वृहत इजलासले प्रतिवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई बयानका लागि बोलाउन आदेश दिएको छ ।
दृष्टि न्युजमा गत असार ८ गते ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।



