काठमाडौँ,१२ असार ।
विदेशमा रहेका नेपालीको अवस्था बारे जानकारी लिन ‘श्रम संसार एप’ सञ्चालनमा आएको छ ।
श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्यले संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको हो । सो एपको बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले शुभारम्भ गरेका हुन् ।
त्यस एपमा विदेशमा रहेका नेपालीहरुले आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई सहज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो विवरण प्राप्त भएपछि नेपालीहरु रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न समेत सहज हुने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरु सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरु मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताइन् ।
साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरुलाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उनीहरुलाई सहज हुने पनि मन्त्री डा राणाले बताइन् ।
मन्त्री डा राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याहरुको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीहरुका समस्याहरु धेरै आउन थालेकाले उहाँहरुको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको बताइन् ।
श्रममन्त्री शरदसिंह भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताए ।
नेपालीहरु को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकहरुलाई यसले ठूलो सहायता प्रदान गर्ने उनको भनाई थियो ।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीहरुले आफ्नो विवरण भने भर्नुपर्नेछ ।






