काठमाडौँ,११ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न तिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

बुधवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् । संसद्को प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्ष दल रास्वपा र राप्रपाले भने हठ गरिरहेको बताए ।

रास्वपा र राप्रपाको कदम सोह्रै आना गलत रहेको दाबी गर्दै उनलेे समस्याको समाधान गर्न छोडेर मुलुकलाई अड्काउन नहुने बताए । छानबिन समिति स्वीकार गरेर छानबिन समितिले निर्बाध रूपमा काम गरोस्, आगामी दिनमा त्यस्ता काम नहोस् भन्नेतर्फ प्रतिपक्षी दलहरूले सचेत गराउन खबरदारी गर्नुपर्ने बताए ।

सरकारले सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सातसदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । यसलाई रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।

मन्त्री गुरुङले भने, ‘मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा हुँदैन । त्यो व्यक्तिसँग जोडिएको विषय छैन । यो संसदीय विधि र पद्धतिअनुसार छैन । सरकारले कुनै हठ गरेको छैन ।’

विरोधको अब धेरै औचित्य नरहेको भन्दै मन्त्री गुरुङले संसदीय काम कारबाहीमा सामेल भएर संसद् अघि बढाउन सहयोग गर्न आग्रह गरे ।