काठमाडौँ,१० असार ।
आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको छ ।

मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकले विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ ।

यसअघि बजेटमाथि संसदमा मन्त्रालयगत छलफल चलेको थियो भने छलफलमा उठेका प्रश्नमा मन्त्रीहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।

बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए ।

अर्थमन्त्री पौडेलले जेठ १५ गते आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत गरेका थिए । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्चतर्फ ३ खर्ब ७५ अर्ब विनियजन गरिएको छ ।