काठमाडौं,१० असार ।
संघीय सरकारले प्रतिनिधि सभामा पेस गरेको आर्थिक बर्ष २०८२/०८३ काे बजेट कार्यान्वयन गर्न बनेको विनियोजन विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ ।
मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गर्ने तयारी जनाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सरकारको वार्षिक बजेट कार्यान्वयन गर्न संसदबाट पारित गरिनुपर्ने कानुनी दस्तावेज मानिने विनियोजन विधेयक पारित भएपछि विभिन्न मन्त्रालय, निकाय तथा कार्यत्रमका लागि विनियोजित रकम खर्च गर्ने कानुनी बाटो खुल्नेछ ।
आजको संसद बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्युसूची छ ।
आज श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।
बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरुमा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चिक्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहाल छन् ।






