काठमाडौँ,१० असार ।
आगामी २४ घण्टामा लुम्बिनी प्रदेश सहित देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा अन्य प्रदेशका केही भू-भागहरूमा वर्षाकाे सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागहरूमा पनि आंशिकदेखि साधारण बदली रही थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू-भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ ।
मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
वर्षासँगै नदी नाला र खोलानालाहरूमा पानीको सतह बढ्ने, आकस्मिक बाढी, भूक्षय, पहिरो तथा गेग्रान बहाव जस्ता प्रकोपहरू हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।








