काठमाडौँ,८ असार ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागकाे माैसम आंशिक बदली रहेको छ । बिहान कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरु तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरु हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा देशको पहाडी भागको केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस समयमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।