काठमाडौं,७ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूकाे बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठककाे कार्यवाही अगाडि बढाएका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएको रास्वपा र राप्रपाले आज पनि सदनमा अवरोध जारी राखेको हो । शनिबार पनि बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन् ।
त्यसपछि सभामुखले रास्वपाका सुमना श्रेष्ठलाई बोल्न समय दिए । उनले विगतदेखि नै आफूहरूले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी छानबिन गर्न माग गरिरहेको बताइन् । उच्चस्तरीय वा संसदीय छानबिन समिति केही नबनेको र त्यो कुरा सरकारले नसुनेको भन्दै सरकार कसका लागि हो भन्दै उनलेे प्रश्न गरिन् ।
यसैगरी राप्रपाकी रोशन कार्कीले पनि भिजिट भिसामार्फत हुने सबै अवैध असुली तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने अडान दोहोर्याइन् । उनले एक दिनमै ५० लाखदेखि एक करोड मान्छे बेचेर कमाउने ? पैसा आउँछ भन्दैमा देश पनि बेच्ने ? भन्दै प्रश्न गरिन् ।
त्यसपछि पनि रास्वपा र राप्रपा सांसदहरूलाई आशणग्रहण गरेर सभा सञ्चालनका लागि सहयोग नगरेपछि सभामुख कार्यसूचीमा अघि बढेका छन् । अहिले विनियोजन विधेयकमाथि छलफल भइरहेको छ ।






