काठमाडौँ,७ असार ।
आगामी २४ घण्टामा देशका अधिकांश भू–भागकाे माैसम आंशिकदेखि सामान्य बदली रहनुका साथै केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली भेगमा हल्का हिमपातकाे सम्भावना रहेको जनाउँदै महाशाखाले पहाड र तराईका धेरै ठाउँमा मेघगर्जनसहित भारी वर्षाकाे सम्भावना रहेको छ । मधेश प्रदेशकाे माैसम भने सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।
बागमती र गण्डकी प्रदेशमा हिमालमा हल्का हिमपात र पहाड तथा तराईका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनीमा पनि यस्तै अवस्था देखिएको महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशको हिमाली भेगमा हल्का हिमपातकाे सम्भावना रहनुका साथै पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा अधिकांश भू–भागमा पनि माैसम बदली भएको छ । हिमाली भेगमा हल्का हिमपात र अन्य क्षेत्रमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने महाशाखाकाे प्रक्षेपण छ ।
सम्भावित जोखिमलाई मध्यनजर गरि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








