काठमाडौँ,६ असार ।
पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले पक्राउ गरेको छ । श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत छन् ।
कर्मचारी नियुक्ति एवं विभिन्न योजनाको स्वीकृति लगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले उनलाई वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।
उनीहरूकाे साथबाट आयोगले चार थान मोबाइलसमेत बरामद गरेको छ । यस्तै, आयोगले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नं २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट मोबाइल दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।



