नवलपरासी,६ असार ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डमा पर्ने पूर्वी नवलपरासीको बिनयी खोलामा आएको बाढीले बगाएको बस फेला परेको छ । बिहिबार राती बगाएको बस डाइभर्सन रहेको ठाउँ देखि ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
लामो समय सडक जाममा परेको उक्त बस यात्रुहरू सहित मध्यरात बिनयी खोलाको डाइभर्सन तर्ने क्रममा एक्कासी बाढी आइदिदा बीचमै अड्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार खोलाको भेलमा बस अड्किए पछि अधिकांश यात्रुले अत्तालिदै गुहार मागेका थिए भने केही यात्रु ज्यान बचाउन बाढीको भेलमा हाम फालेका थिए ।
अन्तत बसममा रहेका यात्रुलाई झण्डै साढे २ घण्टा पछि प्रहरी,स्थानीयबासी,जनप्रतिनिधि र क्रसर व्यवसायीहरूले स्काभेटरको सहायताले सकुशल उद्धार गरेका थिए । बाढीको भेलमा २४ यात्रु सहित फसेको बस यात्रुको उद्धार पछिको केही बेरमै खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका थिए ।प्रहरीका अनुसार काठमाडौ देखि नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस रातको करिव १२: १० बजे खोलामा फसेको थियो ।
पछिल्लो समय बिनयी खोलामा निरन्तर बाढी आइरहेको र पानी घट्नासाथ बनाईएको डाइभर्सन खोलाले पटक पटक भत्काउने गरेको छ । बिकल्पको रूपमा रहेको होङ्सी सर्दीको बाटो हुँदै चल्ने गरेका साना र हलुका सवारी पनि दाउन्ने पहाडमा चड्न नसकी हिलोमा फस्ने गरेको प्रहरीले जनाएको छ ।






