हेटौंडा,४ असार ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविलसहित आक्रमण भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता न्यौपानेमाथि भूमिसम्बन्धि समस्या देखाउँदै वडा कार्यालय प्रवेश गरेका ४ जनाको समूहले आक्रमण गरेको बताइएको छ । कालो पोशाक लगाएर मोटरसाईकलमा आएका ४ जनाको समूहले न्यौपानेलाई कार्यकक्षमै आक्रमण गरेको हो । उनीहरुले कार्यालयमा रहेको सामग्रीबाट वडा अध्यक्ष न्यौपानेमाथि टाउकोमा प्रहार गरी मोविल छ्यापेका हुन् ।

सार्वजनिक जमिन संरक्षणका लागि काममा लाग्दा आफूमाथि आक्रमण भएको अध्यक्ष न्यौपानेकाे भनाइ छ । हेटौंडा–१ स्वर्गलोक स्थित सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो । सोही बिषय लिएर आएका व्यक्तिहरुले वडा अध्यक्षमाथि आक्रमण गरेको बताइएको छ ।

आक्रमणको क्रममा अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ । घटनाका पछि आफूले प्रयोग गर्ने दुईवटै मोबाईल समेत आक्रमणकारीले लगेको न्यौपानेले बताए । घटनापछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरु घटना स्थल पुगेका छन् ।

घटनाको विशेष ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई आग्रह गरिन् । घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणकारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन उनलेे प्रहरी प्रशासनलाई आग्रह गरिन् ।

वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणको बिषयलाई लिएर उपमहानगरपालिकाको आकस्मिक बैठक बस्न लागेको भन्दै नगर प्रमुख लामाले बैठकपछि उपमहानगरले आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।