काठमाडौँ,४ असार ।
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो ।

व्यक्तिलक्षित नभएर प्रमुखको आदेश अनुसार आफुले कर्तव्य निर्वाह गरेको भन्दै उनले भने,’निलम्बन गरेर ममाथि अन्याय भयो भनेर निवेदन दिएको थिएँ अदालतले न्याय दियाे धन्यवाद ।’

‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ ।

आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध पाण्डेले गएको जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

पाण्डेले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि गुरागाइँले कारबाही प्रक्रिया अघि बढाएका थिए ।

उक्त घटनाबारे छानबिन गर्न महानगरले प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो ।

काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो । उपप्रमुख सुनीता डंगोलको नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए । उनलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो ।