बागलुङ,३ असार ।
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वितरणमुखी बजेटले मुलुक समृद्धि बन्न नसक्ने भन्दै दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जाेड दिएका छन् ।
वितरणमुखी बजेटले मुलुक समृद्धि बन्न नसक्ने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने बताए । मंगलबार नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले उक्त कुरा बताएका हुन् । अकारण संसद् अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिदै उनलेे अहिले बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उल्लेख गरे ।
लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भन्दै उनलेे योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताए । उनलेे आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पुर्याउने विश्वास ब्यक्त गरे।
भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन जरुरी नभएको उनको जिकिर छ ।
उनले पार्टीको महाधिवेशन आगामी मंसिरमा सम्भव नदेखिएको बताए ।






