नवलपरासी,२९ जेठ ।
नवलपरासी पूर्वको दुम्किवास स्थित विनयी खाेलाकाे ‘डाइभर्सन’ बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

बाढीले डाइभर्सन बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

गत पुसमा भारततर्फबाट आएको ओभरलोड गाडी गुड्दा अधिक भारका कारण दुम्किबास पुल भाँचिएको थियो । पुल भत्किने जोखिम बढेपछि अधिक भारवहन भएका गाडी डाईभर्सनबाट गुड्ने गरेका थिए ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ बनाइएको पुल दोस्रो सातादेखि सञ्चालन गर्ने योजना छ ।