काठमाडौँ,२७ जेठ ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको टोखामा
प्रहरीले गोली चलाएको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली प्रहार गरेर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय सशिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम रहेका छन् । उनीहरूबाट दुई सय ग्राम खैरो हिरोइन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टोखा नगरपालिका वडा नं–३ मा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ब्न्युरोको टोली त्यहाँ पुगेको र त्यहाँ भेटिएका दुबैजनालाई नियन्त्रणमा लिने प्रयास हुँदा निजहरूले फलाम रडले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले गोली चलाउनु परेको हो ।
उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएका छन् । घाइतेहरू सबैको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेका कारोबारीको घुँडाभन्दा मुनी गोली लागेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




