काठमाडौं,२७ जेठ ।
नेपालमा मनसुन भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन भएको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको थियो । तराई र मधेसका अन्य स्थानमा पनि तापक्रम बढेको छ । जेठ महिनाको मध्य तिर नै मनसुन नेपाल भित्रिएपनि सक्रिय हुन नसक्दा काठमाडौंमा समेत गर्मीको महशुस गरिएको छ ।
काठमाडौंमा सोमवारको अधिकतम तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस पुगेकाे महाशाखाले जनाएको छ । पूर्वको कोशीमा मनसुन भित्रिएर एक दुई दिन सक्रिय भएपनि पनि क्रमशः पश्चिम तर्फ सर्न नसक्दा गर्मी बढेको हो । सरदरभन्दा झन्डै दुई साता अघि नेपाल आइपुगेको मनसुन सक्रिय बन्न नसक्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन । आईतवार र सोमवार देशका अधिकांश क्षेत्रमा टण्टलापुर घाम लागेको थियोे ।
मनसुन देशभर विस्तार हुन अझै एक हप्ता वा सो भन्दा बढि समय लाग्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताईन् । आज बिहान मध्य र पश्चिमी क्षेत्रका आकाशमा बादल देखापरेपनि गर्मी अत्याधिक बढि छ ।
महाशाखाका अनुसार मध्यान्ह तिर कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ । बुधवारदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।
देशभर गर्मी बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ । अत्याधिक गर्मीका कारण तराई र मधेश क्षेत्रका विद्यालयहरुले विद्यार्थीलाई एक साताका लागि गर्मी विदा दिएका छन् । गर्मीका कारण बालबालिकामा रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीले सुझाएका छन् । सकेसम्म दिउँसोको चर्को घाममा घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा छाता ओढ्ने प्रसस्त पानी, ग्लुकोज, सर्वत पिउने, शितल छहारीमा बस्न चिकित्सकहरुको सुझाव छ ।








