काठमाडौ,२६ जेठ ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठकमा अवरोध गरेपछि बुधबारसम्मका लागि बैठक स्थगित भएको हो ।

आज दिउँसो २ बजेका लागि बाेलाइएकाे बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको बैठक पाँच मिनेटमै ३० मिनेटका लागि स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएसँगै विपक्षीहरूले उठेर टेबुल ठोक्दै विरोध जनाएपछि उनले बैठक स्थगित भएको सदनलाई जानकारी गराएका थिए ।

तर ३० मिनेटपछि पनि बैठक बस्दै नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनुपर्ने विपक्षीको माग छ भने सत्तापक्ष यसका लागि तयार भएको छैन ।

वैशाख १३ गतेदेखि विपक्षीले यही माग राख्दै सदन अवरोध गर्दै आएका छन् । जेठ १५ गते संसदमा बजेट पेस गर्न दिएका उनीहरूले जेठ १९ गतेदेखिका सबै बैठक अबरुद्ध गर्दै आएका हुन ।

संसदमा बजेट पेस गर्ने दिन जेठ २५ बाहेक अन्य दिनका बैठक कहिले कार्यसूचीमा प्रवेश नगरी त कहिले बस्दै नबसी स्थगित हुँदै आएको छ ।