बुधवारसम्म देशभर ठूलो पानी पर्ने सम्भावना कम !
काठमाण्डाै,२४ जेठ ।
नेपाल भित्रिएको मनसुन ९ दिनदेखि कोशी प्रदेशमै अलमलिएको छ । कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया १२ देखि १५ दिनमा देशभर फैलनुपर्नेमा ९ दिनसम्म मनसुन कोशीबाट अघि बढ्नै नसकेको हो ।
औसत समयभन्दा १५ दिन चाँडो नेपाल भित्रिएको मनसुन काेशी प्रदेश भन्दा बाहिर बिस्तार हुन नसकेको मौसमविद्ले
बताएका छन् ।
मौसमविद् उज्जवल उपाध्यायका अनुसार कोशीमा पनि मनसुन शिथिल अवस्थामा रहेको छ ।
अहिले मनसुनी वायुभन्दा पश्चिमी वायु बढी शक्तिशाली रहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको मौसमविद्काे भनाइ छ । मनसुन शिथिल रहेको र पश्चिमी वायुमा पानी पार्ने प्रणाली खासै नरहेकोले आउँदो बुधवारसम्म देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् उपाध्यायले बताए ।
वर्षा नहुँदा खासगरी तराई क्षेत्रमा गर्मी निकै बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।
गएको वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन त्यसको १३ दिनमा अर्थात् असार १० गते देशभर फैलिसकेको थियो ।








