काठमाडौं,१७ जेठ ।
प्रशासनले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएपछि राजावादीहरूले शान्तिवाटिकामा प्रदर्शन गरेका छन् । शनिबार बिहान राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले शान्तिवाटिकामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राजावादीहरूले शनिबार नारायणहिटी संग्रहालय क्षेत्रमा प्रदर्शन गर्ने तयारी थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरेसँगै
राजावादीहरूकाे प्रदर्शन शान्तिवाटिकामा केन्द्रित भएको हो ।
यही जेठ १५ गतेदेखि निरन्तर आन्दोलनमा रहेका राजावादीहरूले शनिबार माइतीघर–बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका थिए । गत फागुन २५ गते पहिलोपटक उत्साहजनक सहभागिता देखिएपछि उनीहरुले गणतन्त्रवादीमाथि थप दबाब बढाउने नीति लिएका छन् ।






