काठमाडौँ,१६ जेठ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरबार आसपासकाे क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश पत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरेकाे जनाइएको छ ।
राजावादीहरू सडक प्रदर्शनमा सक्रिय भएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो । पछिल्लो समय राजावादीहरू काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार परिसरमा गएका थिए । त्यस्तै उनी जेठ १९ गते पनि नारायणहिटी दरबार जाने तयारी रहेको बताइएको छ । त्यसअघि प्रशसनले नारायणहिटी संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
राजावादीहरू शनिबार नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारीमा छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमार्फत भनेका छन्, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति सुरु आन्दोलन भोलि पनि जारी रहनेछ । भोलि जेठ १७ गते दरबार मार्ग, महेन्द्र शालिकबाट प्रदर्शन सुरु हुनेछ । आजको उत्साहजनक सहभागिताको निम्ति आभार । भोलि अझ बढी व्यापक सहभागिताको निम्ति अपिल गर्दछु ।’







