बुटवल,१३ जेठ ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा बुटवलको बीपी चाेकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

युनियनका रूपन्देही सभापति कबिन्द्र नेपालकाे सभापतित्वमा मंगलबार साँझ भएको साे कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू,पार्टी निकटका भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,नेपाल पत्रकार महासंघसहित पत्रकार सम्वद्व बिभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागिता रहेको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

बिभिन्न कार्यक्रमकासाथ स्थापना दिवस मनाउने नेपाल प्रेस युनियन केन्द्रीय समितिकाे निर्णय अनुसार बुटवलको बीपी चाेक स्थित बीपीको शालिक वरपर दीप प्रज्वलन कार्यक्रममा राखिएको युनियनका जिल्ला सभापति नेपालले बताए ।

प्रजातान्त्रिक पत्रकारहरुको भेलाले ट्रेड युनियनको अवधारणामा पत्रकारहरुको पेशागत हकहितका लागि एकतावद्ध र संगठित रुपमा अंगाडि बढ्ने दृढ संकल्प सहित २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।

रुपन्देहीमा भने २०५१ सालमा जिल्ला शाखा गठन गरिएको थियो । देशभर ८ हजार बढी सदस्य नेपाल प्रेस युनियनकाे रुपन्देहीमा २ सय बढी सदस्य आवद्ध रहेकाे युनियनले जनाएको छ ।

स्थापना कालदेखिनै पत्रकारहरुको हकहितमा आवाज उठाउँदै आएको नेपाल प्रेस युनियनले व्यवसायिक पत्रकारिता विकास, स्वतन्त्र पत्रकारिता र श्रमजीवी पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

श्रमजीवीका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघमा नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।