काठमाडौं,१३ जेठ ।
प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।
मंगलबारको बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।
सभामुखको सचिवालयका अनुसार बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको थियो ।
बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान लिएका थिए ।
प्रतिपक्षीको अडानबीच बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । पछि सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि स्थगित गरेर सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
कांग्रेस र एमालेले सदनमा गृहमन्त्री बोल्न पाउनुपर्ने माग राखेका छन् भने माओवादी र रास्वपाले गृहमन्त्रीले पहिले राजीनामा दिनुपर्ने अडान लिएका छन् । सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।






