कपिलवस्तु,१२ जेठ ।
सशस्त्र प्रहरीकाे बिराेधमा कपिलवस्तुकाे सीमवर्ती क्षेत्र कृष्णनगरका ब्यवसायीहरूले बजार बन्द गरेका छन् ।
कृष्णनगर उद्योग वाणिज्य संघको आह्वानमा कृष्णनगरका ब्यवसायीहरूले सोमबार बजार बन्द गरेका हुन् ।
सशस्त्र प्रहरीले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र व्यापारीलाई अनावश्यक दुःख दिएकाे आरोप लगाउँदै बजार बन्द गरेको संघका अध्यक्ष रितेश शर्माले जानकारी दिए ।
बजार बन्द हुँदा सीमावर्ती बजार कृष्णनगर सुनसान छ ।
केही दिनदेखि कृषकले मलखाद, बिहेबारीका सामान र खुद्रे व्यवसायीले मालसामान ल्याउँदा सशस्त्र प्रहरीले जाँचका बहानामा पक्राउ गर्दै भन्सार बुझाएर अनावश्यक कष्ट दिँदै आएकाले बाध्य भएर विरोधमा उत्रनुपरेको अध्यक्ष शर्माले बताए ।
यही जेठ ९ गते बहादुरगंजमा तस्करीको आशंकामा ३२ बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेपछि अहिले विरोध भइरहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र उपरीक्षक नेत्र केसीले बताए । उक्त युरिया मल सशस्त्रकै गाडीबाट स्थानीयले झिकेर बाटोमा छरेका थिए ।







