राज्यविरुद्धको कसुरमा ५०, आपराधिक उपद्रवमा ११ र ८ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा समेत
काठमाडौ,११ जेठ ।
राजधानी काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता धवलशमशेर राणा, रवीन्द्र मिश्र र राष्ट्र,राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ५० जनालाई राज्यविरुद्धको कसुरमा समेत प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलले जानकारी दिए ।
उनका अनुसार अरु ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ । यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको पाेखरेलले बताए । चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुने जनाइएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ ।
अरु ११ जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा मात्रै र दुर्गा प्रसाईंसहित ८ जनालाई भने राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
चैत १५ गतेकाे प्रदर्शनमा राजावादीहरुले दुर्गा प्रसाईंलाई जनकमाण्डरकाे जिम्मेवारी दिएका थिए । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो । जसमा पत्रकार सुरेस रजकको जलेर मृत्यु भएको थियो भने कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर मृत्युु भएको थियो ।
यस्तै प्रदर्शनकारीहरुले त्यसदिन व्यक्ति तथा राज्यका सम्पत्तिमा ठूलो नोक्सानी पुर्याएका थिए । यस्तै व्यक्ति तथा सरकारी सवारीमा पनि तोडफोड र आगजनी गरेका थिए ।
घटना पश्चात प्रहरीले साेहिदिन बेलुकादेखि पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान अगाडी बढाएको थियो ।
प्रहरीले साे घटनामा संलग्न रहेको आरोपमा करिव डेढसय जनालाई पक्राउ गरेको भएपनि संलग्नता नदेखिएका र ठूलो कसुर नगरेकाहरुलाई छाडेको थियो । घटनाबारे अनुसन्धान गरेर प्रहरीले बिहीबार १०८ जनालाई मुद्दा चलाउन रायसहितकाे अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
तर सरकारी वकिल कार्यालयले ती मध्ये पनि ६५ जनालाई मात्रै मुद्दा चलाएको छ ।






