तनहुँ,११ जेठ ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु भएको छ । गयराती करिब ११ः३० बजे भएको दुर्घटनामा दुई जना घाइते भएका छन् ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदीको पुलमा पुगेर रेलिङ तोड्दै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा तनहुँकाे व्यास नगरपालिका–५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहारमध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

प्रहरीका अनुसार जिपमा कुल पाँच जना सवार थिए । तीव्र गतिका कारण सन्तुलन गुमाउँदै जिप पुलको रेलिङ भत्काएर नदीमा खसेको अनुमान गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।