बुटवल,१० जेठ ।
लुम्बिनी प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम पारित भएको छ ।
शनिबार बसेकाे प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकले प्रदेश सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकोमा ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
यसअघि शुक्रबार र शनिबार गरी दुई दिनसम्म प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । छलफलमा ४० जना प्रदेशसभा सदस्यहरूले भाग लिँदै विकासका विविध पक्षमा आ आफ्ना सुझाव तथा धारणा राखेका थिए । छलफलमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नकाे जवाफमा मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यहरूबाट आएका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गरे ।
नीति तथा कार्यक्रम तीनै तहका सरकारबीचको समन्वय, सीमित साधन स्रोतको यथार्थ र विगतका अनुभवलाई आधार बनाएर तयार पारिएको भन्दै उनले आगामी बजेट कार्यक्रमगत र आयोजनागत रूपमा नीति तथा कार्यक्रम कार्यान्वयन गरिने बताए ।
प्रस्तुत नीति तथा कार्यक्रममा रचनात्मक सुझाव प्राप्त भएकाे भन्दै मुख्यमन्त्री आचार्यले तिनलाई विषयगत मन्त्रालयमार्फत कार्यक्रमिक ढंगले सम्बाेधन गर्ने जानकारी गराए । उनले भने, ‘नीति तथा कार्यक्रम सरकारको दिग्दर्शन हो, यसलाई बजेटमार्फत सम्बोधन गरिनेछ ।’
प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधारलगायत क्षेत्रलाई प्राथमिकता दिँदै प्रदेशको समग्र विकास गर्ने उद्देश्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सांसदहरूले प्रस्तुत कार्यक्रमलाई सकारात्मक भन्दै कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री आचार्यले आगामी बजेट पनि कार्यान्वयन योग्य र यथार्थपरक हुने बताए ।






