प्रमुख दलहरू समयमै सचेत नभए मुलुक अन्त्यहीन द्वन्द्वमा फस्ने खतरा !
बुटवल,१० जेठ ।
मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बर्तमान संविधानलाई मार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसका बिरूद्व प्रमुख राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जाेड दिएका छन् ।
राजनीतिक दलका केही नेताहरूका कमिकमजाेरीका कारण जनतामा ब्याप्त असन्तुष्टिलाई उचालेर यो ब्यवस्थानै बदल्ने आन्दोलनमा उपयोग गर्ने गम्भीर षड्यन्त्र भइरहेको भन्दै उनलेे संविधान पक्षधर मुख्य ठूला दलहरू समयमै सचेत नभए मुलुक अन्त्यहीन द्वन्दमा फस्ने खतरा रहेको बताए ।
मानवअधिकार तथा शान्ति समाज रूपन्देही शाखाद्वारा शनिबार बुटवलमा आयोजित नागरिक आकांक्षा,नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता विषयक नागरिक संवाद कार्यक्रममा संस्थापक सभापति पहाडीले चैत १५ गते तिनकुनेमा २० हजार मान्छे उतार्ने र हिंसा भड्काएर राजधानीका सम्वेदनशील ठाउँ जनताले कब्जा गरेको हल्ला फैलाई नेपाली सेना मार्फत निरंकुश राजसंस्था पुनर्स्थापना गर्ने षड्यन्त्र अनुरूप हिंसात्मक प्रदर्शन गरिएको दाबी गरे ।
यद्यपि साे प्रदर्शनमा पाँच हजारकाे हाराहारीमा मानिस सडकमा उत्रिएको र राजावादीहरूकाे योजना सफल नभएको उनको भनाइ थियो ।
संघीय लाेकतान्त्रिक गणतन्त्र आए पनि जनअपेक्षा अनुसारका काम हुन नसक्दा जनतामा असन्तुष्टि बढेको यथार्थ भए पनि जनताको असन्तुष्टिलाई दुरुपयोग गरेर लाेकतन्त्रकाे घाटी निमाेठ्ने षड्यन्त्र बिरूद्व दलहरू एकजुट नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको औल्याए ।
पुर्वराजा ज्ञानेन्द्रले नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चताकाे कुरा गर्नु हास्यास्पद भएको भन्दै पहाडीले नेपालमा नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चताकाे सबैभन्दा ठूलो दुस्मन तत्कालीन राजा ज्ञानेन्द्र भएको आराेप लगाए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका सभापति रेनुका पाैडेल,समाजका पुर्व सभापति गाेविन्द खनाल,नेपाल प्राध्यापक संघका पुर्व अध्यक्ष डा बुद्वबहादुर थापा,शान्ति समाजका केन्द्रीय सदस्य लालहरी पाण्डे,उच्च अदालत बार एशाेसिएसन बुटवलका अध्यक्ष गाेविन्द मरासिनी,उद्योगी गणेशप्रसाद अधिकारी,एजाज आलम,लेखक डा बाबुराम ज्ञवालीलगायतले पटकपटकको राजनीतिक परिवर्तन पछि पनि जनअपेक्षा अनुसारका काम हुन नसक्दा जनतामा असन्तुष्टि बढेको भन्दै जनअसन्तुष्टिलाई बेलैमा सम्बाेधन गर्ने तर्फ दलहरू लाग्नुपर्नेमा जाेड दिए ।
मानवअधिकार तथा शान्ति समाज रूपन्देहीका सभापति अर्जुन ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शरद वली,नेकपा माओवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुसाल,नेपाली कांग्रेस बुटवलका उपसभापति ज्याेति भण्डारीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।






