काठमाडौं,१० जेठ ।
यस बर्षकाे मनसुनमा ३० वर्ष यताकै धेरै वर्षा हुने माैसमविदले बताएका छन् ।
लुम्बिनी र गण्डकी प्रदेशका दुई तिहाई बढी भू-भागमा यस बर्ष सरदर भन्दा ५५ देखि ६५ प्रतिसतसम्म धेरै पानी पर्ने माैसमविदकाे प्रक्षेपण छ ।
यस वर्षको मनसुन सुरु हुनुअघि नै असामान्य संकेतहरू देखा परेकाे भन्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिए । त्यसको असर नेपालका उच्च पहाडी,उच्च हिमाली तथा अन्य प्रदेशका धेरैजसो भूभागमा पर्ने उनको भनाइ छ ।
विशेषतः गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भूभागमा ५५ देखि ६५ प्रतिशतसम्म औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको उनलेे बताए ।
डा. उप्रेतीका अनुसार, पछिल्ला ३० वर्षको तुलनामा यो वर्ष धेरै वर्षा हुने देखिन्छ । सुदूरपश्चिमको दार्चुला, बैतडी लगायतका उच्च हिमाली क्षेत्र, वागमती प्रदेशका विभिन्न भूभाग र मधेस प्रदेशकै उत्तरी चुरे क्षेत्र औसतभन्दा बढी वर्षा हुने सम्भावित क्षेत्रहरू हुन् । तापक्रमसमेत औसतभन्दा बढी हुने प्रक्षेपण गर्दै उनलेे उच्च हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विष्फोटको जोखिम बढाउने उल्लेख गरे ।
मनसुनको अबधिमा क्रमागत रूपमा पानी पर्नुको सट्टा एकैपटक धेरै पानी पर्नाले बाढी र पहिरोको सम्भावना बढाउने डा. उप्रेतीको तर्क छ । पहिल्यै पर्याप्त आद्रता भएको माटोमा भारी वर्षा हुनाले जमिन स्खलन, नदी थुनिने, नदी फूटेर बाढी आउने र जलाशय जस्तै नयाँ ताल बन्ने सम्भावनाले डरलाग्दो दृश्य उपस्थित गराउने उनलेे चेतावनी दिएका छन् ।
डा. उप्रेतीले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग र पूर्वसूचना प्रणालीको विकास अपरिहार्य भएको बताए । विशेषतः कर्णाली, कोशी, राप्ती, बबईदेखि नारायणी नदीसम्मका तटीय क्षेत्रहरूमा माथिल्लोदेखि तल्लो भागसम्मको जोखिमको आकलन गरी समयमै सूचना प्रवाह गर्ने प्रणाली निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
जलवायु परिवर्तनको असर परम्परागत ज्ञान वा पूर्खाहरूको बसोबास सञ्जालले मात्र बुझ्न सक्ने अवस्था नरहेको भन्दै उनलेे उच्च हिमाली भेगका वस्तीहरू जहाँ नदीको किनारमा परम्परागत रूपमा बसोबास गरिएको छ, त्यहाँ जोखिम थपिएको र हिजोको सुरक्षित ठानिएको ठाउँ आजको बदलिएको मौसम र जलचक्रमा असुरक्षित हुनसक्ने चेतावनीसमेत दिएका छन् ।
औसतभन्दा बढी तापक्रम र वर्षाको असर मानव स्वास्थ्यमा पनि देखिन सक्ने उनको अनुमान छ । डा. उप्रेतीले यो वर्ष खाल्डाखुल्डीमा पानी जम्ने र तापक्रम बढ्ने प्रवृत्तिका कारण डेङ्गु रोग फैलिने सम्भावना विगतका वर्षभन्दा बढी देखिएको जनाएका छन् । पहाडी तथा उच्च हिमाली भेगहरू जस्तै सुदूरपश्चिम र कर्णालीका उत्तरी क्षेत्रमा समेत डेङ्गु देखिनसक्ने अनुमान गरिएको छ ।








